Jul 30, 2011

अफ्रिका किन गरीब भयो ? भाग ---१

Photo taken from the web
वर्तमान विश्वको एउटा प्रमूख जल्दोबल्दो बौद्धिक तथा नीतिगत मुद्दा भनेको सबसहारन अफ्रिकाको गरिबी हो । जसले बिल गेट्स जस्ता व्यापारी देखि लिएर म्याडोना र एन्जेलिना जोली जस्ता चलचित्रकर्मी देखि लिएर बोनो तथा बब गेडल्फ जस्ता संगीतकारहरु समेतको ध्यान खिचिरहेको छ । विश्व बैङ्कले गरिबी मापन गर्दा दिनको एक अमेरिकी डलर भन्दा कम आम्दानी गर्ने व्यक्तिहरुलार्ए गरिबीको सूचीमा राख्दछ । यसरी हेर्दा ती व्यक्तिहरुमध्येका अधिकांश झण्डै ३५ करोड व्यक्तिहरु सबसहारान अफ्रिकामा बसोबास गर्दछन् । अझ मूख्यतः अफ्रिका मात्रै विश्वको त्यो भूभाग हो जहाँ निरपेक्ष गरिबीको मात्रा बढिरहेको छ । सन् २०१५ सम्ममा संयुक्त राष्ट संघको सहस्राब्दी विकास लक्ष्यलाई  दीइएको  महत्वका  बाबजुद अफ्रिकाको गरिब मानिसहरुको संख्या ४० करोड नाघ्ने अनुमान छ ।

अफ्रिकामा आज किन यति धेरै गरिबहरु छन् ? के अफ्रिका संधै यस्तै थियो ? यस विषयमा फरक फरक मतहरु पाइन्छ । केहीले अफ्रिकाको गरिबीको जड यस महादेशको भूगोल तथा  पर्यावरनलाई मान्दछन् ।

अरुलाई भन्छन् अफ्रिकाको संस्कृति परम्परा नै यस्तो छ कि यहाँ पूँजीवाद फस्टाउनै पाउँदैन त्यसैले गरिबी छ। म यस लेखमा अफ्रिका ऐतिहासिक रुपमा गरिब हुनु र आजसम्म पनि गरिब रहिरहनुमा सम्पत्ति अधिकारको प्रमुख भूमिका रहेको छ भनेर तर्क गरिरहेको छु । छोटकरीमा अफ्रिकन देशहरुमा ती समान प्रकारका सम्पत्ति अधिकारहरु छैनन् जसले पश्चिमी यूरोप वा उत्तरी अमेरिकाको आर्थिक उन्नतिमा ठूलो भूमिका खेले र उनीहरुसंग भएका सम्पत्ति अधिकार पनि  असुरक्षित छन् ।

अफ्रिकामा सम्पत्ति अधिकारको अभाव वा भएको स्वरुप नै यसको गरिबीको मूख्य स्रोत हो । यो खुसीको समाचार पनि हो र दुःखको समाचार पनि । खुसीको समाचार के हो भने अपि्रुका भाग्यमै गरिबी लेखिएको छैन यसका सम्पत्ति अधिकारको व्यवस्था सुधार्ने हो भने अफ्रिकाको आर्थिक वृद्धी  हुनेछ र यहाँका नागरिकहरुको जीवनस्तर सुध्रिने छ । दुःखको समाचार चाहिँ के हो भने सम्पत्ति अधिकार सुधार्नका लागि कुनै एउटा अचूक उपाय छैन । उदाहरणका लागि अफ्रिकामा विदेशी अनुदान थुर्पानाले त्यहाँको पीडा त केही हदसम्म कम होला तर त्यसले त्यहाँको व्यवस्था सुधार्ने सम्भावना अत्यन्त न्युन छ ।

अफ्रिकाको गरिबीमा सम्पत्ति अधिकारको भूमिका खोतल्दा हामीले यसको इतिहासको अध्यायनबाट शुरु गर्नु जरुरी हुन्छ । हामीलाई थाहा छ बेलायतमा २३० वर्ष अघि औद्योगिक क्रान्ति शुरु हुनुभन्दा पहिले देशहरुको सम्रिद्धीको स्तरमा भिन्नता अहिलेको भन्दा निकै कममात्र थियो । आज एउटा अमेरिकन नागरिकको औसत कमाई इथियोपिया  वा सियरालियोनको नागरिकको औसत कमाईभन्दा ४० गुणले बढी छ जबकी सन् १७५०मा यो भिन्नता दुई वा तीन गुणले मात्र बढी थियो । सन् १७५० र सन् २००९ को बीचमा संयुक्त राज्य अमेरिकाले तीव्र आर्थिक वृद्धी हासिल गर्‍यो  तर अफ्रिकी देशहरुले गरेनन् । सन् १७५०मै पनि विभिन्न समाजहरुबीच संरचनागत भिन्नताहरु थिए । हुनत हामीलाई थाहा छैन ति भिन्नताहरु कहिले उत्पन्न भए तर हामी इतिहासका केही पानाहरु पल्टाउन सक्छौं । 

उदाहरणका लागि सन् ५०० मा अक्सम अधिराज्य उत्तरी इथियोपियामा फस्टाइरहेको थियो । यसको आफ्नै  लिखित भाषा र आफ्नै  मुदा थियो र हलोमा आधारित विविधिकृत कृषिजन्य अर्थतन्त्र पनि । त्यस अधिराज्यले पर्सियाको खाडी अरेबियन प्राय:द्वीप र पूर्वी मेडिटेरानियन, भारत र श्रीलंकासंग समेत व्यापार गर्ने गर्दथ्यो । रोमन सम्राट कन्सटेनटीन सन्र ३१२ मा ईसाइ धर्ममा परिगत भएका थिए भने अक्समका राजा सन् ३३३ मा केबल २१ वर्ष पश्चात । 

तथापि प्रविधि र राजनैतिक व्यवस्थाको विकासक्रममा अफ्रिकाको वक्र रेखा पश्चिमी यूरोपको भन्दा निकै भिन्न छ । इथियोपिया भन्दा बाहिर नत हलो नत चक्का नै प्रयोग भयो सब सहारान अफ्रिकामा । अक्सम र मालीका ठूला सहरी केन्द्रहरु अपवाद मात्र ठहरिएका छन् । यी दुई समाजका राजनैतिक व्यवस्थालाई तानाशाही भनेर वर्णन गर्न मिल्छ । यिनीहरु राजाद्वरा  शासित थिए जसको शक्तिमाथि कुनै अंकुश थिएन ।

तानाशाही व्यवस्थाले खडा गर्ने आर्थिक समस्याहरुको एउटा राम्रो उदाहरण कङ्गो अधिराज्यको    जुन अहिले कङ्गो प्रजातान्त्रिक गणतन्त्रको रुपमा छ  इतिहास हो । कङ्रगोको राजधानी म्वान्जा सन्र १४८३ मा पोर्तुगाली अन्वेषक डिएगो चाओले भ्रमण गर्दा करिब ६० हजार थियो जुन त्यसबेलाको लिस्बनको आकार समान र लण्डनको भन्दा ठूलो हो ।सन् १५०० मा लण्डनको जनसंख्या करिब ५० हजार मात्र थियो ।

कंगाली जनताले पोर्चुगालीहरुसंग हलो र चक्का  पाङ्ग्रा  को बारेमा सिके जब पोर्चुगालीहरुले सन् १४९१ र १५१२ मा सुधारिएका कृषिजन्य अभ्यास प्रेरित गर्नका लागि दुतहरु पठाए । तर पनि बिसौं शताब्दीको शुरुवातसम्म पनि त्यहाँ हलो र पाङ्ग्रा दुवैको प्रयोग नगन्य मात्रामा मात्र हुन्थ्यो । त्यसबेलाको समाज कसरी संगठित थियो भन्ने बारे प्राप्त प्रमाणहरु बाट थाहा पाउन सकिन्छ । कङ्गो एउटा राजा र घरानीया वर्गबाट शासित थियो जसको सम्पत्ति दासहरुद्वरा सन्चालित बगानहरुबाट र कर संकलनबाट हुन्थ्यो । शामन्तहरुले दासप्रथाको अभ्यास आफ्नो  बगानहरुमा श्रमशक्ति जुटाउनका लागि र युरोपेलीहरुलाई बेच्नका गर्दथे र दासप्रथा अर्थतन्त्रको केन्द्रविन्दु सरह थियो । कर प्रणाली मनोमानी ढङ्गको थियो र जब जब राजाको टोपी खस्थ्यो तबतब उठाइन्थ्यो । 

समृद्ध हुनका लागि कंगाली जनताहरुले बचत गर्न र लगानी गर्न पर्थ्यो ;जस्तै हलोमा । तर त्यसो गर्नु लाभकर थिएन किनकी उनीहरुले उत्पादन गरेको अतिरिक्त सामान राजा र उसका भारदारहरुले लिएर जान्थे । प्रायः मानिसहरुको सम्पत्ति अधिकार पनि अत्यन्तै असुरक्षित थियो लुटपाटबाट बच्नकै लागि धेरैले आफ्ना गाउँहरु सडकभन्दा टाढा सार्ने गर्दथे ।

अक्सम र यसको उत्तराधिकारी इथियोपिया सन् ५०० मा समकालीन युरोपेली समाज भन्दा खासै भिन्न देखिदनथ्यो होला र युरोपकै समयतिर सामन्तवाद पनि उत्पन्न भएको थियो । तर यस विन्दु पश्चात भने अफ्रिका र युरोपका सम्पत्ति अधिकारको व्यवस्थामा ठूलो भिन्नता देखापर्न थाल्यो । युरोपमा सन् १४०० आइपुग्दासम्म आन्तरिक दासप्रथा हराइसकेको थियो र यसै समयताका सामन्तावादका धरोहरहरु पनि धरासायी हुन थालेका थिए । इथियोपियामा भने यी प्रथाहरु बिसौं शताब्दीको मध्य सम्ममा पनि कायमै थिए । 

अठारौं शताब्दीका बेलायती इतिहासकार एडवर्ड गिब्बनले  भनेझै इथियोपियालीहरु "झण्डै एक हजार वर्षका लागि निदाए"। तर बेलायतमा भने फरक किसिमका घटनाहरु घटिरहेका थिए । सम्पत्ति अधिकार र श्रम बजारको व्यवस्थामा मात्र नभएर वैचारिक सम्पत्ति अधिकारमा र मानिसहरुको भूमिसम्मको पहूँमा पनि परिवर्तन आयो । सन् १६२३ को एकाधिकार सम्बन्धी ऐनले विश्वको पहिलो पेटेन्ट सम्बन्धी कानूनलाई जन्म दियो दासप्रथा उन्मुलन हुँदै गयो र भूमि निजी सम्पत्तिको अधिकार विकसित हुँदै गयो । यी व्यवस्थाहरु विस्तारै अन्य युरोपेली उपनिवेशहरु संयुक्त राज्य अमेरिकासमेतमा फैलिदै गए र बेलायतको अर्थतन्त्रमा ठूलो भूमिका खेले ।

यो कुरा किन बेलायतमा भयो तर कङगो वा इथियोपियामा भएन  रोचक त के छ भने एकाधिकार ऐन पेन्टेट सम्बन्धि कानून बनाउनका लागि नभएर राजालाई मनोमानी रुपमा पत्र मार्फत पेटेन्ट दिनबाट रोक्नका लागि ल्याइएको थियो। 

क्रमश्:

लेखक : जेम्स रबिन्सन
अनुवाद : सुरथ गिरी  


भाग २ यहाँ छ:
http://www.surathgiri.com/2011/08/blog-post.html