व्यापार तथा भूमण्डलीकरणः एक परिचय
डा. इमोन बट्लरद्वारा लिखित ‘एन इन्ट्रोडक्सन टु ट्रेड एण्ड ग्लोबलाइजेशन’ (An Introduction to Trade and Globalization) अन्तर्राष्ट्रिय व्यापार, खुला बजार र भूमण्डलीकरणका आधारभूत आयामहरूलाई सरल भाषामा बुझाउने एक उत्कृष्ट पुस्तक हो । यस पुस्तकमा लेखकले विगत ५० वर्षमा विश्व व्यापारमा भएको तीव्र वृद्धि, अन्तर्राष्ट्रिय राजनीति र वाणिज्यबीचको बढ्दो सम्बन्ध, तथा आधुनिक जीवनमा भूमण्डलीकरणको अपरिहार्य भूमिकाबारे गहन विश्लेषण गरेका छन् । व्यापारले कसरी दुई देश वा समाजबीच द्वन्द्व नभई आपसी समृद्धि र सकारात्मक आर्थिक परिवर्तन ल्याउँछ भन्ने कुरालाई बट्लरले यस पुस्तकमा स्पष्ट पारेका छन् । यस पुस्तकमा अर्थशास्त्रका जटिल सिद्धान्तहरूलाई सर्वसाधारणले पनि सहजै बुझ्न सक्ने गरी प्रस्तुत गरिएको छ ।
मैले सन् २०२४ मा समृद्धि फाउण्डेशनका लागि यस पुस्तकलाई नेपालीमा अनुवाद गरेकाे थिएँ । मलाई लाग्छ नेपालजस्तो विकासोन्मुख देशका लागि यो पुस्तक अहिलेको समयमा झनै बढी सान्दर्भिक छ । हामी कसरी विश्व बजारसँग जोडिएर आर्थिक लाभ लिन सक्छौँ र व्यापारलाई जति धेरै नियन्त्रण गर्यो, त्यति नै कसरी हाम्रै अर्थतन्त्र संकुचित हुँदै जान्छ भन्ने कुरा यसले बडो गज्जबसँग बुझाउँछ । विशेष गरी अर्थशास्त्र, व्यवस्थापन र राजनीतिशास्त्रका विद्यार्थीहरू, लोक सेवाको तयारी गरिरहनुभएका साथीहरू, र नेपालको आर्थिक नीति एवम् वैदेशिक व्यापारमा चासो राख्ने जोकोहीका लागि पनि यो पुस्तक एउटा नभई नहुने र निकै उपयोगी सन्दर्भ सामग्री बन्नेछ भन्ने कुरामा म विश्वस्त छु ।
तपाईँले याे पुस्तक यहाँ पढ्न वा डाउनलाेड गर्न सक्नुहुन्छ ।
