Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Jun 13, 2026

असल अर्थशास्त्र : अर्थशास्त्रका सिद्धान्तहरू सरल तरिकाले बुझाउने एउटा पुस्तक [Free PDF]


वर्षौंदेखि हाम्रा राजनीतिक आन्दोलनहरूले आर्थिक समृद्धिको नारा त दिए, तर उद्यमशीलता, बजार व्यवस्था र आर्थिक स्वतन्त्रता जस्ता मूल विषयहरू सधैं ओझेलमा परे । त्यसैले नेपालको सार्वजनिक बहसमा अर्थशास्त्रका आधारभूत र व्यावहारिक सिद्धान्तहरूलाई सरल भाषामा पुर्‍याउने प्रमुख उद्देश्यसहित वि.स. २०७५ मा मैले कमन सेन्स इकोनाेमिक्स: व्हाट् एभ्रिवान सुड नाे अबाउट वेल्थ एण्ड प्राेस्पेरिटी भन्ने अर्थशास्त्रकाे एउटा चर्चित पुस्तकलाई नेपालीमा अनुवाद तथा स्थानीयकरण गरेकाे थिएँ । यस पुस्तकमा कठिन शब्दावली र जटिल गणितीय सूत्रहरूलाई थाती राखेर, वास्तविक जीवनका उदाहरणहरू र आम विवेकका माध्यमबाट समाज र देश कसरी समृद्ध बन्छन् भन्ने कुरा प्रस्तुत गरिएको छ । अनुवादकका रूपमा यो मेरो पहिलाे पुस्तक थियाे र नेपाल प्राेस्पेरिटी इन्स्टिच्युटकाे पहिलाे प्रकाशन पनि । यसकाे पहिलाे अध्यायकाे चाहिँ हामीले श्रव्यपुस्तक पनि बनाएका छौँ जुन तपाईँले यहाँ पाउन सक्नुहुन्छ ।
 
उक्त पुस्तकको डिजिटल संस्करण यहाँ प्रस्तुत गरेको छु । आशा छ याे तपाईँहरूका लागि उपयाेगी हुनेछ । यस पुस्तकले तपाईंलाई आर्थिक दृष्टिकोणले सोच्न र हाम्रा नीतिगत समस्याहरूलाई बिल्कुलै नयाँ कोणबाट हेर्न सघाउनेछ भन्ने मलाई विश्वास छ । कृपया यो पुस्तक उपयोगी हुनसक्ने अन्य व्यक्तिहरूमाझमा पनि यसलाई बाँड्न नभुल्नुहाेला ।
 
 

Jun 9, 2026

व्यापार तथा भूमण्डलीकरणः एक परिचय


डा. इमन् बट्लरद्वारा लिखित ‘एन इन्ट्रोडक्सन टु ट्रेड एण्ड ग्लोबलाइजेशन’ (An Introduction to Trade and Globalization) अन्तर्राष्ट्रिय व्यापार, खुला बजार र भूमण्डलीकरणका आधारभूत आयामहरूलाई सरल भाषामा बुझाउने एक उत्कृष्ट पुस्तक हो । यस पुस्तकमा लेखकले विगत ५० वर्षमा विश्व व्यापारमा भएको तीव्र वृद्धि, अन्तर्राष्ट्रिय राजनीति र वाणिज्यबीचको बढ्दो सम्बन्ध, तथा आधुनिक जीवनमा भूमण्डलीकरणको अपरिहार्य भूमिकाबारे गहन विश्लेषण गरेका छन् । व्यापारले कसरी दुई देश वा समाजबीच द्वन्द्व नभई आपसी समृद्धि र सकारात्मक आर्थिक परिवर्तन ल्याउँछ भन्ने कुरालाई बट्लरले यस पुस्तकमा स्पष्ट पारेका छन् । यस पुस्तकमा अर्थशास्त्रका जटिल सिद्धान्तहरूलाई सर्वसाधारणले पनि सहजै बुझ्न सक्ने गरी प्रस्तुत गरिएको छ ।
 
मैले सन् २०२४ मा समृद्धि फाउण्डेशनका लागि यस पुस्तकलाई नेपालीमा अनुवाद गरेकाे थिएँ । मलाई लाग्छ नेपालजस्तो विकासोन्मुख देशका लागि यो पुस्तक अहिलेको समयमा झनै बढी सान्दर्भिक छ । हामी कसरी विश्व बजारसँग जोडिएर आर्थिक लाभ लिन सक्छौँ र व्यापारलाई जति धेरै नियन्त्रण गर्‍यो, त्यति नै कसरी हाम्रै अर्थतन्त्र संकुचित हुँदै जान्छ भन्ने कुरा यसले बडो गज्जबसँग बुझाउँछ । विशेष गरी अर्थशास्त्र, व्यवस्थापन र राजनीतिशास्त्रका विद्यार्थीहरू, लोक सेवाको तयारी गरिरहनुभएका साथीहरू, र नेपालको आर्थिक नीति एवम् वैदेशिक व्यापारमा चासो राख्ने जोकोहीका लागि पनि यो पुस्तक एउटा नभई नहुने र निकै उपयोगी सन्दर्भ सामग्री बन्नेछ भन्ने कुरामा म विश्वस्त छु ।
 
तपाईँले यो पुस्तक यहाँ पढ्न वा डाउनलाेड गर्न सक्नुहुन्छ ।