Showing posts with label Mises. Show all posts

Oct 10, 2020

साम्यवाद किन असफल भयो ?


(My Nepali translation of the article "Why Communism Failed" by Bettina Bien Greaves)

रुसी क्रान्तिको तीन वर्षपश्चात् एकजना अस्ट्रियाली अर्थशास्त्री लुडविग भन मिसेसले साम्यवाद असफल हुने तर्क गरेका थिए र त्यसको कारण पनि व्याख्या गरेका थिए । सन् १९२० मा मिसेसले लेखेका थिए, साम्यवाद वा समाजवाद सफल हुन सक्दैन किनभने यसले स्वतन्त्र बजारलाई उन्मूलन गर्दछ जसले गर्दा बजार मूल्य हुँदैन र अधिकारीहरूलाई उत्पादनसम्बन्धी योजना बनाउँदा मार्गदर्शन गर्ने केही पनि हुँदैन । यो विवादास्पद भविष्यवाणी गर्दा मिसेस खासै चिर-परिचित थिएनन् तर पछि गएर अर्थशास्त्रको अष्ट्रीयाली (स्वतन्त्र बजार) विचारधाराको प्रमुख पैरवीकर्ताको रूपमा उनी चर्चित भए । सन् १९७३मा उनको मृत्यु भएपछि उनको सिद्धान्तका नयाँ अनुयायीहरू थपिए जसमध्ये केही पूर्वी यूरोपबाट समेत थिए ।

सोभियत संघ निकै उच्च आशाका साथ प्रारम्भ गरिएको थियो । केन्द्रीय समितिले योजना बनाउने र सबैको लागि यथेष्ट भएको सुनिश्चित गर्ने सोच थियो । कालान्तरमा राज्य विलय भएर जाने भन्ने थियो । तर सोचेको जस्तो भएन । सोभियत राज्य छिट्टै नै निकै शक्तिशाली हुन गयो र संसारकै सबैभन्दा बढी दमनकारी मध्येको बन्न गयो । १९२० र ३० को दशकमा लाखौं रुसी जनता भोकमरीले बिते ।

Photo by: Steve Harvey/Unsplash


मिसेसले औल्याए जस्तै, समाजवादी उत्पादनमा प्रयोग हुने कच्चापदार्थ, श्रम, औजार, तथा यन्त्रहरू बजारभन्दा बाहिर हुन्छन् । तिनीहरू सरकारको स्वामित्वमा हुन्छन् र सरकारी योजनाकारद्वारा नियन्त्रित हुन्छन् । कसैले पनि तिनलाई किन्न वा बेच्न सक्दैन । तिनीहरूको बजार मूल्य उत्पन्न हुँदैन किनभने तिनीहरूको विनिमय हुँदैन ।


आधुनिक उत्पादन अत्यन्त समय लाग्ने र जटिल हुन्छ । उत्पादकहरूले के उत्पादन गर्ने भन्ने निर्णय गर्दा विकल्पहरूलाई पनि ध्यान दिनुपर्ने हुन्छ । र उनीहरूले कसरी उत्पादन गर्ने भन्ने निर्णय गर्दा उत्पादनका विभिन्न माध्यममाथि विचार पुर्याउनुपर्ने हुन्छ । कच्चापदार्थ, औजार, तथा यन्त्रहरूलाई सबैभन्दा अत्यावश्यक परियोजनाको लागि छुट्याउनुपर्ने हुन्छ र कम आवश्यक परियोजनामा खेर फाल्नु हुँदैन ।


उदाहरणको लागि, एउटा नयाँ रेलमार्गको नियोजनलाई हेरौं । के यो बनाइनुपर्छ ? यदि पर्छ भने कहाँ ? र कसरी ? के रेलमार्ग बनाउनु एउटा पुल बनाउनु, विद्युत उत्पादनको लागि बाँध बनाउनु, तेल खानीको विकास गर्नु वा थप जमिनमा खेती गर्नुभन्दा बढी महत्वपूर्ण छ ? कुनै पनि केन्द्रीय योजनाकारले यी असंख्य सम्भवनाहरूलाई मध्यनजर गर्न सक्दैन भलै उसले तथ्यांकशास्त्रीहरू कर्मचारी राखेको किन नहोस् ! श्रमको सट्टा केही हदसम्म यन्त्र प्रयोग गर्न सकिएला, फलामको सट्टामा काठ, अलमुनियम, वा नयाँ सिन्थेटिक सामग्री प्रयोग गर्न सकिएला । तर योजनाकारले कसरी निर्णय गर्छन् ?


यी निर्णयहरू गर्नका लागि योजनाकारलाई यसमा संलग्न असंख्य उत्पादन कारकहरूको सापेक्षिक मूल्य – विनिमय अनुपात वा बजार मूल्य - थाहा हुन जरूरी छ  । तर जब यी कारकहरू सरकारी स्वामित्वमा हुन्छन्, तिनीहरूको कारोबार हुँदैन जसले गर्दा बजार मूल्य हुँदैन । बजार मूल्यविना, योजनाकारहरूलाई फलाम, अलुमिनियम, काठ, नयाँ सिन्थेटिक वा रेलमार्ग, तेल खानी, कृषियोग्य जमिन, ऊर्जा केन्द्र, पुल, वा आवासको सापेक्षिक मूल्य थाहा हुँदैन । उत्पादनका कारकहरूको बजार मूल्यविना योजनाकारहरूले उपभोक्ताको सबैभन्दा बढी महत्वपूर्ण आवश्यकताहरूलाई सम्बोधन गर्नका लागि कसरी उत्पादनलाई समन्वय र दिशानिर्देश गर्ने भन्नेमा अन्योलमा हुन्छन् ।

Photo by: Jonas Jovaisis/Unsplash

 रुसी क्रान्ति भएको ७० वर्ष बितिसक्यो र दोस्रो विश्वयुद्ध सकिएको पनि ४५ वर्ष बितिसक्यो । तर पनि किन रुसी जनताले आजसम्म पर्याप्त आवास वा दैनिक प्रयोगका सामानहरू पाएका छैनन् त ? किन फसल काट्ने र ढुवानी गर्ने उपकरणको अभावमा कृषि उत्पादनहरू खेतमानै कुहिइरहेका छन् त ?  कारखाना तथा तेल खानीहरूको किन राम्रो मर्मतसम्भार हुने सकेको छैन जसले गर्दा उत्पादनमा गिरावट आइरहेको छ ? किनभने कच्चापदार्थ, औजार, यन्त्र, कारखाना, तथा खेतहरू निजी स्वामित्वमा छैनन् । निजी मालिकहरूले गर्ने मोलमोलाईविना तिनीहरूको सापेक्षिक बजार मूल्य प्रतिविम्बित हुने मूल्यहरू विकास हुन पाउँदैनन् । र बजार मूल्यविना, उपभोक्तालाई आवश्यक पर्ने वस्तु तथा सेवा उपलब्ध गराउने गरि उत्पादनका क्रियाकलापहरू समन्वय गर्न असम्भव हुन्छ । यसले गर्दा साम्यवाद असफल हुन्छ ।


एउटा प्रतिस्पर्धात्मक अर्थतन्त्रमा, जहाँ उत्पादनका कारकहरू निजी स्वामित्वमा हुन्छन्, यी समस्याहरू दैनिक रूपमा समाधान हुन्छन् जब मालिकहरूले विभिन्न कारकहरूको मौद्रिक मूल्य गणना गर्दछन् र त्यसपछि इच्छाअनुसार किन्ने, बेच्ने, वा सट्टापट्टा गर्ने गर्दछन् । मिसेसले सन् १९२० मा लेखेको जस्तै, "हामीले उत्पादनका कारकहरूको निजी स्वामित्व र पैसाको प्रयोगबाट जति कदम टाढा चाल्छौं, हामी तर्कसंगत अर्थशास्त्रबाट त्यति नै टाढा पुगिराखेका हुन्छौं ।"


आज, साम्यवादीहरूले समेत मिसेस सही रहेको स्वीकार्छन् । सोभियत संघ, निजी सम्पति तथा मौद्रिक गणनाविनाको एउटा समाजवादी समाज, "आर्थिक गणनाको कम्पासविना सम्भावित तथा कल्पनीय आर्थिक सम्मिश्रणहरूको सागरमा हराउनेछ" मिसेसले भविष्यवाणी गरेका थिए सन् १९२० मा । र उनी सही ठहरिए !
 

Nov 15, 2010

अधिनायकवादी अर्थव्यवस्थामा किन आर्थिक मन्दी आउँदैन


(Leftists and authoritarians around the world are touting the global financial crisis as a byproduct of free market capitalism and increased state control of the economy as the solution. However, their claims are miles away from truth.  I have translated the article called "The Alleged Absence of Depressions under Totalitarianism"by Ludwig Von Mises as an attempt to shed lights on this issue.)

धेरै समाजवादी लेखकहरु आर्थिक संकट र व्यापारिक अवसादहरु पूँजीवादी अर्थव्यवस्थामा अन्तर्निहित अवगुणहरु हुन भनेर जोड गरिरहेका हुन्छन् । समाजवादी अर्थव्यवस्था भने यस कूरीतिबाट अछुतो रहने उनीहरुको जिकिर हुन्छ ।

तर पहिल्यै पनि स्पष्ट भैसकेको र फेरि पनि देखापर्ने एउटा कुरा के हो भने बरोबर भइराख्ने व्यापारिक घटबढ एउटा स्वतन्त्र बजारको परिधिबाट उत्पन्न हुने चीज नभएर स्वतन्त्र बजारले तय गर्नेभन्दा कम उचाइमा ब्याजदर राख्नलाई सरकारद्वारा  गरिएको हस्तक्षेपको उपज हो । यस विन्दुमा आएर अब हामीले समाजवादी योजनाको कथित स्थिरताको बारेमा मात्र छलफल गरे पुग्छ ।

हामीले यहाँ के बुझन जरुरी छ भने आर्थिक संकट उत्पन्न हुनुको कारण बजारको प्रजातान्त्रिक अभ्यास हो । जब उद्यमीले काममा लगाएका उत्पादनका कारकहरु प्रति उपभोक्तालाई चित्त बुझ्दैन तब उनीहरु आफ्नो  गुनासोलाई कुनै सामान खरिद गर्ने वा नगर्ने व्यवहारबाट अभिव्यक्त गर्दछन् । कृत्रिम रुपमा गिराइएको बजारको कुल ब्याजदरबाट दिग्भ्रमित भएका उद्यमीहरु सर्वसाधारणलाई संतुष्टि प्रदान गर्न चाहिने तत्कालका आवश्यकता पूरा गर्ने क्षेत्रहरुमा लगानी गर्नबाट चुक्छन् । अनि जब उधारोको विस्तार अन्त्य हुन्छ गल्तीहरु उजागर हुन्छन् । उपभोक्ताको व्यवहारले व्यापारीहरुलाई आफ्नो कि्रयाकलाप उपभोक्ताको प्राथमिक चाहनातर्फ समायोजन गराउन बाध्य तुल्याउँछ । अर्थतन्त्र उचाइँमा हुदाँ भएका गल्तीहरु सच्याउने र उपभोक्ताको इच्छाहरुतर्फ समायोजन गर्ने प्रकि्रयालाई नै आर्थिक मन्दी (अवसाद)  भनिन्छ ।

तर एउटा समाजवादी अर्थव्यवस्थामा केबल सरकारको मत मात्रले स्थान पाउँछ र जनताहरु कुनै वस्तु वा सेवाको मूल्यबारे आफ्नो  मत अभिव्यक्त गर्ने कुनै पनि माध्यमबाट विाचत हुन्छन् । एउटा तानाशाहले कति स्रोत चालु खपतलाई छुट्याउने र कति अतिरिक्त लगानीको लागि राख्ने भनेर गरेको निर्णयलाई जनताले समर्थन गर्छन कि गर्दैनन् भनेर मतलब गरिराख्नु पर्दैन । यदि तानाशाहले कम खपत गर्ने धेरै लगानी गर्ने निर्णय गर्दछ भने जनताहरु थोरै खान र जिब्रोमा ताल्चा लगाउन बाध्य हुन्छन् । कुनै पनि संकट आइपर्दैन किनकी जनताहरुसँग आफ्नो  असन्तुष्टी व्यक्त गर्ने अवसर नै हुँदैन ।

जहाँ कुनै व्यापार नै हुँदैन त्यहाँ व्यापार राम्रो हुने वा नराम्रो हुने हुँदैन । त्यहाँ भोकमरी तथा कुपोषण होला तर आर्थिक संकट हुँदैन । आर्थिक संकट जुन बजार अर्थतन्त्रको समस्या हल गर्ने एउटा प्रकिया हो । जहाँ व्यक्तिहरु रोज्नका लागि स्वतन्त्र छैनन त्यहाँ उत्पादन गतिविधि निदेर्शित गर्नेहरुको प्रकियाबिरुद्ध  आवाज उठाउन उनीहरुले पाउँदैनन् । पुँजीवादी देशहरुमा पनि जनमतले सस्तो मुद्राको नीतिलाई समर्थन गर्ने गरेको पाइन्छ । जनमानस कृत्रिम विज्ञहरुको सस्तो मुद्राले विना कुनै खर्च सबैलाई सम्रिद्ध  बनाउँछ भन्ने गलत दावीहरुले गर्दा दिग्भ्रमित भएको हुन्छ । उनीहरुले याद गर्दैनन् कि लगानीलाई त्यस हदसम्म मात्र विस्तार गर्न सकिन्छ जुन हदसम्म बचतको माध्यमबाट पूँजी जम्मा भएको हुन्छ । उनीहरु वित्तिय लहडको परी कथाले गर्दा झुकिन्छन् । तर वास्तविकतामा मानिसहरुको व्यवहारले महत्व राख्छ परी कथाले होइन। यदी मानिसहरु आफ्नो  चालु खपत कम गरेर बढी पैसा बचत गर्न तयार छैनन् भने लगानीको विस्तारका लागि चाहिने दिगो माध्यमको अभाव हुन्छ । यो माध्यम पैसा छापेर वा बैंकको खाताको कर्जा  (क्रेडिट)  ले उपलब्ध गराउन सक्दैन ।

यो साधारण घटना हो कि व्यक्तिले मतदाताको सामर्थ्यमा  गर्ने काम उसले बजारमा गर्ने व्यवहारको विपरीत हुन्छ । त्यसैले उदाहरणका लागि उसले यस्ता कार्यको लागि मत हालीराखेको हुन्छ जसले कुनै एउटा वा सबै वस्तुको मूल्य वृद्धि गरिराखेको हुन्छ जबकी एउटा उपभोक्ताको रुपमा भने ऊ यी मूल्यहरु कम भएको हेर्न चाहन्छ । यस्तो आपसमा विरोधी व्यवहारहरु अज्ञानता र गल्तीका कारण भैराखेका हुन्छन् । मानव स्वभावका कारण यस्तो भैरहन्छ । तर एउटा सामाजिक संस्था जसमा व्यक्ति न त मतदाता हो न त के्रता हो वा जहाँ मतदान र खरीद देखावटी मात्र हुन्छन् त्यहाँ यस्ता कुराहरु अनुपस्थित हुन्छन् ।

Author: Ludwig Von Mises
Translation: Surath Giri